बौद्धमाथि मनाङको सहज जित
Published on Saturday, December 1, 2012
7:10 PM //
Sports
१६ मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले बौद्ध क्लबलाई पराजित गरेको छ ।
शनिबार भएको एक पक्षीय खेलमा मनाङले बौद्धमाथि ४-१ को जित दर्ता गरेको हो । जितसँगै ३ खेलबाट ७ अंक जोडेको मनाङ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडेको मच्छिन्द्र गोल अन्तरका आधारमा अघि रहँदै शीर्ष स्थानमा छ ।
दशरथ रंगशालामा भएको खेलमा बौद्धले सुरुमा नै अग्रता लिने मौका गुमाएको थियो । चौथो मिनेटमा नै पाएको सुन्दर मौकामा सुमन लामाले गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलरक्षक इम्यानुअलले रोकेका थिए । त्यसपछि बौद्धको पोष्टमा एकपछि अर्को गर्दै आक्रमण गरेको मनाङलाई ३९ मिनेटभन्दा रोक्न सकेन । ४० औं मिनेटमा अमिर श्रेष्ठको पासमा स्टफेनले गोल गर्दै मनाङलाई अग्रता दिलाए । पहिलो हापको अन्त्यमा बौद्धले बराबरी गर्ने मौका गुमायो । डिफेण्डरलाई विट गर्दै बौद्धका बुद्ध लामाले वान भर्सेज वानमा गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलरक्षकले सजिलै रोके ।
खेलको ६२ औं मिनेटमा शिव श्रेष्ठले मनाङको अग्रता दोब्बर पारे भने ७२ औं मिनेटमा कप्तान अनिल गुरुङले मनाङका लागि तेस्रो गोल गरे । दोस्रो हापको बौद्धमाथि एक पछि अर्को गोल थपेको मनाङले ७६ औं मिनेटमा सुलभ मास्केको क्रसमा सिकोको हेड गोलमा ४-० को अग्रता लियो । खेल आफ्नो पक्षमा आउने भएपछि मनाङले ७८ औं मिनेटमा गोलरक्षक इम्यानुअलकको स्थानमा वि्रजेश सिंहलाई मैदान प्रवेश गराए ।
८६ औं मिनेटमा मनाङका डिफेण्डर र गोलरक्षकबीचको तालमेल नमिल्दा बौद्धले फाइदा उठायो । बौद्धले सान्त्वना गोल गरेपनि हार भने टार्न सकेन र मनाङलाई ४-१ ले नतिजा सुम्पियो ।
यसैबीच सशस्त्र प्रहरीको एपीएफ क्लबले लिगमा पहिलो जित हात पारेको छ । शनिबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा मध्यपुर युथ एशोशिएशनलाई ३-२ गोल अन्तरले पराजित गर्दै एपीएफले ३ अंक जोडेको हो ।
खेलमा एपीएफले १८ औं मिनेटमा गणेश लावतीको गोलबाट अग्रता लिएको हो । खेलको ३९ औं मिनेटमा मध्यपुरका जीवन सिंकेमानले बराबरी गोल फर्काए । खेलको ५७ औं मिनेटमा राजेन्द्र रावलको गोलबाट एपीएफले फेरि अग्रता लियो । ७६ औं मिनेटमा विवेक प्रताप पन्तले नविन लामालाई लडाएपछि एपीएफले पेनाल्टी पायो र लावतीले गोल गर्दै टोलीलाई ३-१ को अग्रता दिलाए ।
८५ औं मिनेटमा एपीएफका गोलरक्षक विक्रम गुरुङले मध्यपुरका जीवन सिंकेमानलाई फल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड दिए भने मध्यपुरलाई पेनाल्टीको मौका । बालगोपाल साहुखलले पेनाल्टीमा गोल गर्दै एपीएफको अग्रता ३-२ मा झारेपनि मध्यपुरले थप गोल गर्न सकेन र प्रतियोगितामा पहिलो हार स्वीकार गरेको छ । यसअघिको दुबै खेल मध्यपुरले बराबरी खेलेको थियो ।












0 comments