Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

कस्तो हुन्छ मुसाको चटनी ? प्रधानमन्त्रीका लागि मुसा खोज्न छुट्टै टोली

Published on Thursday, December 6, 2012 7:58 PM //


२१ मंसिर, काठमाडौं । टीकापुर – ८, कैलालीका मुक्तकमैया बाबुराम चौधरीलाई यतिबेला टुसुक्क बस्ने फुर्सद छैन । ‘भर्खरै जंगल पुगेर एकगाडा दाउरा ल्याएँ, अब स्वागत सत्कार र भोजको अरु तयारी गर्नुछ’ बिहीबार दिउँसो अनलाइनखबरसितको कुराकानीमा चौधरीले भन्नुभयो, ‘मुसा खोज्न चार-पाँचजनाको टोली खटाइसकेको छु ।’
शुक्रबार प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो घरमा बास बस्न आउने पक्का भएपछि चौधरीको चटारो बढेको हो । उहाँसँगै परिवारका सदस्य, छिमेकी र जिल्लाका माओवादी कार्यकर्ता आवश्यक तयारीमा जुटेका छन् । थारु संस्कृति अनुसार प्रधानमन्त्रीको स्वागतसत्कार गर्ने चौधरीको तयारी छ । ‘हाम्रो सँस्कृतिमा मुसा र घोंगीको परिकारलाई विशेष मानिन्छ, त्यसैले यो त छुटाउनै भएन नि’ चौधरीले भन्नुभयो ।

बिहीबार दिउँसोसम्म उहाँको घरमा एक किलो घोंगी आइसकेको छ । भए बिहीबार बेलुकै, नभएपनि शुक्रबार बिहानसम्म १०/१२ वटा मुसा पनि जम्मा पार्नैपर्छ । प्रधानमन्त्रीलाई मेजमानीसहित खाना खुवाउने सुरले उहाँले मुसाको छुट्टै तरकारी र चटनी बनाउन लाग्नुभएको हो । ‘मुसा पाउन त गाह्रो छ, तैपनि हाम्रो सँस्कृति हो जसरी पनि जुटाउनुपर्छ’ चौधरीले भन्नुभयो-’प्रधानमन्त्रीले खान त के गर्नुहुन्छ, तैपनि हामीले सत्कार गर्ने कुरा हो, मज्जाले बनाएर दिन्छौं ।’
मुसाबाट बन्ने परिकार
चटनी -खेतबाट मारेर ल्याएको मुसाको आन्द्राभूँडी निकालिन्छ । त्यसपछि त्यसलाई झिरमा उनेर आगोमा सेकाइन्छ । पाक्न थालेपछि त्यसलाई बाहिर निकालिन्छ र भुत्ला फालिन्छ । सानो कुचोले सफा गरेर त्यसलाई टुक्रा पारिन्छ । टुक्रा पारेर फेरि सेकाइन्छ र सेकुवा बनाइन्छ । अनि बाहिर निकालेर स्वाद अनुसार नून, तेल, मसला, बेसार, धनिया, खुर्सानी राखेर मोलिन्छ । उतिखेरै जिब्रो नै रसाउने गरी मुसाको स्वादे चट्नी तयार हुन्छ ।
तरकारी- थारु समुदायमा धेरैले मुसाको चटनी मन पराउँछन् । तर, तरकारीका रुपमा पनि यसको उत्तिकै प्रयोग हुन्छ । अरु पशुपंक्षीको मासु पकाएजस्तै गरी नून, तेल, मरमसला हालेर मुसाको तरकारी पकाइन्छ । भन्टा र लौकामा मुसा मिसाएर बनाइएको तरकारी धेरैले मन पराउँछन् ।
सेकुवा-आगोमा सेकाएर भूत्ला निकालेपछि काटकुट पारेर त्यसमा नूनमसला हालेर सेकुवाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हाँस, कुखुरा, राँगो, भैंसी, खसीको जस्तै मुसाको सेकुवामा पनि अरु खाद्य पदार्थ राखेर स्वादिलो बनाउन सकिन्छ ।
एउटा मूसाले एकजनालाई मात्र भाग पुग्छ । झोल हालेर बाँड्ने हो भने दुई तीनजनालाई पनि पुर्याउन सकिन्छ ।
सजिलो छैन मुसा पाउन
धेरैले घरको भन्दा खेतको मुसा मन पराउँछन् । ‘खेतको मुसा पोखरीमा पालेको माछा जस्तो र घरको मुसा खोलामा पाइने माछा जस्तो हो’ थारु संस्कृतिबारे जानकार पत्रकार कृष्णराज सर्वहारीले अनलाइनखबरसित भन्नुभयो-’त्यसैले सबैले खेतको मुसा नै खोज्छन् ।’ धान पाक्ने बेलामा खेतमा मुसा प्रशस्त पाइन्छ । तर अहिले खेतमा धान छैन । मुसा खोज्न खेतका दुलोदुलो खोतल्नुपर्छ । एकजनाले मात्र मुसा समात्न सक्दैन । पाँच सात जनाकै हूल बाँधेर आवश्यक पासो सहित मुसा समात्न जानुपर्छ । दुई चार तिरबाट छेकेर, दूलो थुनेर मात्र बल्लतल्ल मुसा समात्न सकिन्छ । बनमा कालिज र मृगको शिकार गर्नभन्दा पनि मुसा समात्ने काम गाह्रो हुने थारु समुदायको अनुभव छ ।
पाहुनाका लागि उत्कृष्ट परिकार
पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा मुसाको परिकारलाई उत्कृष्ट परिकारको रुपमा लिइन्छ । घरमा कोही पाहुना आउँदा सत्कारसाथ मुसाको परिकार पस्कने चलन छ । दाल, तरकारी, कुखुराको मासुसँगै कचौरामा मुसाको चटनी या तरकारी राखिदिए पाहुनाप्रतिको सम्मान हुने उनीहरुको बुझाई छ । ‘थारु समुदायमा पाहुनालाई स्वागतसत्कार गर्दा घोंगीको परिकार र चामलको पिठोबाट तयार पारिने ढिकरीसँगै मुसाको चटनी खुवाउने चलन छ’ पत्रकार सर्वहारीले भन्नुभयो -’एकपटक चाख्ने मान्छे अर्कोपटक पनि पल्किहाल्छ ।’ उहाँका अनुसार पहिल्यै घीन मान्ने मान्छेले खान सक्दैन । तर, घीन नमानी चाख्नेले अर्कोपटक आफैं मुसाको चटनी खोज्छ ।
बाबुरामका लागि नयाँ भोजन
महिनाको एकपटक जनताको घर जाने क्रममा प्रधानमन्त्रीले यसअघि कहिल्यै नखाएका धेरै परिकारको स्वाद लिइसक्नुभएको छ । यसअघि महोत्तरीको मुसहर बस्ती पुग्दा उहाँले घोंगीको स्वाद लिइसक्नुभएको छ । यसपटक कैलालीमा बाबुराम चौधरीको घर पुग्दा उहाँले मुसाको चटनी चाख्ने हुनुभएको छ । मुसाको यो परिकार उहाँको लागि नयाँ हुनेछ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!