Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

औद्योगिक क्षेत्रको भाडा ९०० % सम्म वृद्धि

Published on Thursday, November 22, 2012 1:41 PM //

रामचन्द्र भट्ट, काठमाडौं, मंसिर ७ - औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका औद्योगिक क्षेत्रका जग्गा र घरको भाडा नौ सय प्रतिशतसम्म वृद्धि गरेको छ। देशका ११ वटा औद्योगिक क्षेत्रमध्ये सञ्चालनमा रहेका १० वटैमा भाडा बढाउने निर्णय औद्योगिक क्षेत्र व्यवस्थापनले गरेको छ।


क्षेत्रभित्रको टहरालाई प्रति वर्गफिट मासिक ३ रुपैयाँ ३७ पैसाबाट ८ रुपैयाँ बढाइएको छ। त्यस्तैगरी जग्गाको भाडा पनि ठाउँपिच्छे बढाइएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गौदमदास श्रेष्ठका अनुसार बालाजु औद्योगिक क्षेत्रको खाली जग्गाको भाडा उद्योगीले अब प्रति रोपनी मासिक तीन हजार रुपैयाँ तिर्नुपर्नेछ। यसअघि प्रति रोपनी भाडा ७ सय २२ रुपैयाँमात्र थियो। भक्तपुरमा प्रति रोपनी भाडा मासिक दुई हजार पाँच सय पुर्या इएको छ। औद्योगिक क्षेत्रभित्र उद्योगको सहायक व्यवसाय गर्नेलाई प्रति वर्गफिट १६ रुपैयाँसम्म भाडा तोकिएको छ।
लिमिटेडले निर्माण गरेका टहरा उद्योगीलाई उद्योग सञ्चालन गर्न भाडामा दिँदै आएको छ। टहरा लिन नचाहने र आफ्नै स्वरुपमा उद्योगको भवन निर्माण गर्न चाहनेलाई व्यवस्थापन लिमिटेडले भाडा तिर्नेगरी जग्गा उपलब्ध गराउँछ।

सरकारले निर्माण गरेका औद्योगिक क्षेत्र व्यवस्थापन यो संस्थानले हेर्दै आएको छ। लिमिटेड पूर्ण सरकारी स्वामित्वको संस्थान हो। यसको मातहतमा काठमाडौं उपत्यकाभित्र बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्र छन्। त्यस्तै हेटौंडा, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, राजविराज, जनकपुर र धनकुटामा औद्योगिक क्षेत्र छन्। धनकुटा औद्योगिक क्षेत्रमा भने एउटै पनि उद्योग छैन। राम्रा औद्योगिक क्षेत्रमा बालाजु, पाटन, हेटौंडा र पोखरा पर्छन्।

'तीन वर्षदेखि औद्योगिक क्षेत्रको भाडा नबढेको हुँदा वृद्धि गर्ने निर्णय भएको हो,' महाप्रबन्धक श्रेष्ठले भने, 'बालाजुजस्तो ठाउँको जग्गा रोपनीको सात सयमा प्रयोग गर्न दिइरहनुपर्छ भन्न मिल्छ?'
उद्योगीहरुले भने लोडसेडिङ, ट्रेड युनियन समस्याले औद्योगिक क्षेत्र समस्याग्रस्त बन्दै गएको अवस्थामा छलफलसमेत नगरी भाडा बढाएकोमा आपत्ति जनाएका छन्।

व्यवस्थापनले एकतर्फी भाडा बढाएको जानकारीसहित भुक्तानी गर्न पत्र पठाउन सुरु गरिसकेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडअन्तर्गत रहेका देशभरका औद्योगिक क्षेत्रमा सात सय उद्योगहरु छन्।
औद्योगिक क्षेत्रको भाडा सस्तो भएको भन्दै तीन वर्षदेखि बढाउने प्रयास व्यवस्थापनले गरेको थियो। तीन वर्षअघि तत्कालीन महाप्रबन्धक गिरिराज भण्डारीले उद्योगीलाई समेत चित्त बुझाउनेगरी भाडा बढाउने तयारी गरेका थिए।

उनले त्यो काम पूरा गर्न नपाई राजीनामा दिनु परेको हुँदा भाडा वृद्धि रोकिएको थियो।
अहिलेका महाप्रबन्धक श्रेष्ठले भने औद्योगिक क्षेत्रका उद्योगीको संस्था 'औद्यागिक क्षेत्र उद्योग महासंघ' को धारणासमेत नलिई भाडा वृद्धिको निर्णय गरेको आरोप उद्योगीको छ। 'महाप्रबन्धकले कर्मचारी युनियनको मागका आधारमा सञ्चालक समितिको बैठक समेत नराखी भाडा बढाउने निर्णय गरेका छन्,' महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भने।

महाप्रबन्धक श्रेष्ठ केही वर्षअघि महासंघका अध्यक्ष थिए। अध्यक्ष भइसकेको व्यक्तिले उद्योगीको संस्थाको रायसमेत नलिई मनोमानी ढंगले भाडा बढाउने निर्णय गरेकोमा उद्योगीहरुले कडा आपत्ति जनाएका छन्।
'हामी व्यबस्थापनले मनोमनी ढंगले बढाएको भाडा तिर्दैनौं, अर्को निर्णय नभएसम्म बढाइएको भाडा नतिर्न उद्योगीहरुलाई आग्रह गरिसकेका छौं,' औद्योगिक क्षेत्र उद्योग संघ भक्तपुरका उपाध्यक्ष नारायणहरि खत्रीले भने। व्यवस्थापनले बुधबार भक्तपुर औद्योगिक क्षेत्रमा रहेका सबै उद्योगहरुलाई भाडा बढेको जानकारी पठाएको थियो।

मंसिर १ देखि लागु हुनेगरी भाडा बढाइएको जानकारी व्यवस्थापनले पठाउन सुरु गरेको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सरकारी संस्थानमध्ये नाफामा सञ्चालितको सूचीमा पर्छ। यसले सरकारलाई प्रतिफल नदिएपनि सरकारले अनुदान दिनुपर्ने अवस्था भने छैन।

सबै औद्योगिक क्षेत्रबाट संस्थानले अहिले बार्षिक ३ करोड ३३ लाख रुपैयाँ भाडा प्राप्त गर्दै आएको छ। भाडा बढाएपछि झण्डै ६ करोड प्राप्त हुने अनुमान संस्थानको छ। 'भाडा बढाएर हामीले तलब भत्ता खान खोजेका होइनौं, भत्केका, बिग्रिएका संरचनाको सुधारमा खर्च गर्ने योजना छ,' महाप्रबन्धक श्रेष्ठले भने।
तर उद्योगीहरुले भने भाडा वृद्धि हुनुपर्नेमा आफूहरु पनि सहमत रहेको तर एकैपटक नौ सय प्रतिशत हुँदा अहिलेको अवस्थामा टिक्नै नसक्ने हुन सक्ने बताउँछन्। २०५४ सालमा भाडा वृद्धि गर्दा हरेक २/२ वर्षमा १५ प्रतिशतका दरले बढ्ने सहमति भएको थियो। उक्त सहमति २०६६ सालमा पूरा भएपछि त्यसयता भाडा बढेको थिएन।

भाडा वृद्धिको निर्णय व्यवस्थापन लिमिटेड सञ्चालक समितिको बैठकले अनुमोदन भने गरेको छैन। उद्योगीहरुले भाडा वृद्धिको निर्णय फिर्ता गराउन दबाब दिने भएका छन्। 'बिहीबार औद्योगिक क्षेत्र उद्योग महासंघको बैठकले यो विषयमा निर्णय लिन्छ,' खत्रीले भने।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!