Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

जहाज उडेको हेर्न २३ रुपैयाँ !

Published on Tuesday, November 27, 2012 9:15 AM //


१२ मंसिर, काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले टर्मिनल भवनको छत सर्वसाधारणका लागि खुला गरेको छ । जहाज उडान तथा अवतरण गरेको हेर्न मिल्ने गरी विमानस्थल व्यवस्थापनले यो स्थान खुला गरेको हो ।विमानस्थलको छतबाट अव सर्वसाधारणले पनि जहाज उडान अवतरण तथा विमानस्थलमा हुने अन्य गतिविधि हेर्न पाउनेछन् । तर, यसका लागि शुल्क भने तिर्नुपर्नेछ । ‘भिजिटर डेस्क’ नाम दिइएको सो स्थानसम्म जानका लागि प्रतिव्यक्ति २३ रुपियाँ शुल्क तोकिएको छ । टिकट काउन्टर विमानस्थलभित्रै राखिएको छ ।

भिजिटर डेस्क सञ्चालन गरेर वार्षिक एक करोड रुपियाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य विमानस्थलले लिएको छ । यसका लागि प्रशासनले एक निजी कम्पनीलाई ठेक्का दिएको छ । चार महिनाअघि विमानस्थलले गरेको सार्वजनिक सूचनाका आधारमा टेन्डर प्रतिस्पर्धामा सहभागी भई कृत्तिका इन्टरप्राइजेजले यसको जिम्मा पाएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनका अनुसार भिजिटर डेस्क सञ्चालनका लागि आठ वटा कम्पनीले टेन्डर हालेका थिए । यसमध्ये सबैभन्दा बढी रकम तिर्न तयार भएको कृत्तिका इन्टरप्राइजेज छनोटमा परेको सुमनले बताए ।
कम्पनीले ३ वर्षमा चार करोड एक लाख ४० हजार रुपियाँ विमानस्थललाई तिर्ने गरी भिजिटर डेस्क सञ्चालनको जिम्मा लिएको छ । करिब १४ सय वर्गमिटर क्षेत्रफल ओगटेको भिजिटर डेस्क सञ्चालनका लागि कम्पनीले कुल रकमको २५ प्रतिशत अर्थात् एक करोड ३५ लाख रुपियाँ बराबरको बैंक जमानत र पहिलो किस्ताको रकम विमानस्थललाई बुझाइसकेको छ । बाँकी रकम तीन/तीन महिनामा बुझाउँदै जाने सम्झौता दुई पक्षबीच भएको सौर्य दैनिकमा खबर छ ।
विमानस्थल क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी भिजिटर डेस्क सञ्चालनका लागि छुट्टै सुरक्षा युनिट राखिएको छ । त्यस्तै डेस्क सञ्चालनका लागि भौतिक उपकरणसमेत जडान गरिसकिएको छ । १५ वर्षअघि यही स्थान सर्वसाधारणका लागि नि:शुल्क खुला गरिएको थियो । पछि टर्मिनल भवन विस्तार गर्नका लागि यो बन्द भएको थियो ।
भिजिटर डेस्क खुला भएपछि सर्वसाधारणका लागि पनि विमानस्थल पहुँच सहज हुने र आगन्तुक बढ्ने अपेक्षा विमानस्थल अधिकारीको छ ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!