नबिलको अनलाइन किनमेल र भुक्तानी सेवा
Published on Monday, November 26, 2012
5:07 PM //
Business
काठमाडौं, मंसिर ११
(नागरिक) - नबिल बैंकले अनलाइनबाट किनमेल
तथा भुक्तानी
सुविधा भएको
'इसेक्योर' सेवा सुरु गरेको छ।
बैंकका डेबिट,
क्रेडिट र
प्रिपेड कार्ड
भएका ग्राहकले
घरै बसेर
अनलाइनबाट उपलब्ध वस्तु तथा सेवा
खरीद गर्न
सक्ने छन्।
नयाँ सेवामार्फत बैंकको डलर खाता भएका ग्राहकले डलरमा र नेपाली रुपैयाँमा खाता भएका ग्राहकले भारतीय र नेपाली मुद्रामा अनलाइनमार्फत किनमेल गर्न सक्छन्।
'बैंकका सबै कार्डवाहकहरुले यो सुविधा प्रयोग गर्न सक्छन्,' प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, 'अनलाइनमार्फत हुने किनबेच तथा कारोबार एकदमै सुरक्षित र भरपर्दो छ।'
इसेक्योर सेवा लिन र्काडधनीहरुले बैंकको वेबसाइटमा गएर आफ्नो खाता (युजर एकाउन्ट) रजिष्टर गर्नु पर्छ। एटिएम कार्डमा दिइने पिनको प्रयोग हुने भएकाले सम्बन्धित ग्राहकबाहेक अरु कसैले यसको प्रयोग गर्न नसक्ने उनले जानकारी दिए।
बैंकका अहिले २ लाख डेबिट कार्ड र २० हजार क्रेडिट कार्ड प्रयोगकर्ता छन्।
इसेक्योरको प्रयोगबाट नेपालभित्रै जहाजको टिकट, वस्तु तथा सेवाको खरिदजस्ता कारोबार गर्न सकिन्छ। साधारण कार्ड हुनेहरुले पनि भारतीय बजारमा पाइने वस्तु तथा सेवा खरिद गर्न सक्छन्। भारतबाहेकका मुलुकबाट सामान खरिद गर्न भने डलर खाता चाहिन्छ। राष्ट्र बैंकका अनुसार डलरमा आम्दानी गर्ने र विदेश भ्रमणमा गएकाहरुले मात्र डलर खाता खोल्न पाउँछन्।
यो सेवा प्रयोगका लागि सुरुमा रजिष्ट्रेसन शुल्क बापत ५० रुपैयाँ लाग्छ। वार्षिक शुल्क एक सय रुपैयाँ लाग्छ। यसबाहेक प्रत्येक कारोबारमा खरिद मूल्यको ०.५ प्रतिशत वा ५० रुपैयाँमध्ये जुन बढी हुन्छ त्यति बराबरको रकम शुल्क लाग्ने छ। 'कम शुल्कमा घरैमा बसेर वस्तु तथा सेवाको किनमेल गर्न सकिन्छ,' ज्ञवालीले भने, 'बजारसम्म पुग्ने समय र यातायात खर्च बचत हुन्छ।'
पछिल्लो समय आफै गएर वस्तु तथा सामान खरिद गर्दा भन्दा अनलाइनमार्फत किन्न जाँदा सस्तो पाइने गरेको छ। अनलाइनमार्फत् किनमेल गर्दा नगद बोक्दा हुने जोखिमबाट जोगिन सकिन्छ।
नबिल नेपालमा पहिलो पटक कार्ड सेवा सुरु गर्ने बैंकसमेत हो। 'नबिलले इन्टरनेटमार्फत ग्राहकलाई विश्वभर खरिद अवसर प्रदानसमेत पहिलो बैंक बनेको छ,' ज्ञवालीले भने, 'ग्राहकका आवश्यकता अनुसार सेवा र सुविधा अझ बढाएर लैजान्छौं।'
बैंकले ग्राहकको सुरक्षाका लागि दैनिक अधिकतम २ लाख रुपैयाँ र बढीमा पाँच वटा कारोबार गर्ने व्यवस्था गरेको छ। कारोबार भएको जानकारी एसएमएस अलर्टमार्फत पाइने छ। बैंकले इसेक्योर सेवा लिन इच्छुक ग्राहकका लागि आफ्नो अनलाइनमा 'लिंक' राखिदिएको छ। ग्राहकले रजिस्टर्ड गर्ने बित्तिकै कारोबार गर्न सक्छन्। तर, डलर खाता भएकहरुले भने २४ घण्टा पर्खनु पर्ने हुन्छ।
0 comments