सिभिल ड्रेस' मा ट्राफिक, एकै दिन चार सय कारबाहीमा
Published on Wednesday, December 12, 2012
1:00 PM //
news
काठमाडौं, मंसिर २७ (नागरिक) - महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी
नियम उल्लंघनकर्तालाई पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन गरेको छ।
यस्ता ट्राफिक प्रहरीले मंगलबार राजधानीका ११ स्थानबाट सवारी नियम उल्लंघन
गर्ने चार सय तीन जनालाई कारबाही गरेका छन्।
लेन अनुशासन पालना नगर्ने दुई सय १५ जना, जथाभावी यात्रु चढाउने
र झार्ने ५६, रातो बत्तीमा नरोक्ने ६५, सवारी चलाउँदा मोबाइल फोन प्रयोग
गर्ने २४, सिटबेल्ट नबाँध्ने २६, ट्राफिकको इशारा उल्लघंन गर्ने ५,
क्षमताभन्दा बढी यात्री चढाउने ९ र स्वरूप परिवर्तन गर्ने ३ जना कारबाहीमा
परेको महाशाखाले जनाएको छ।
मंगलबार बिहान ९ देखि ११ बजेसम्म बबरमहल,
केशरमहल, कोटेश्वर, जयनेपाल, कालिमाटीमा र दिउसो २ देखि साढे ४ बजेसम्म
सिंहदरबार, कालिमाटी, वानेश्वर, जयनेपाल, दरबारमार्ग र कृष्णपाउरोटीमा साधा
पोसाकमा ट्राफिक प्रहरी खटिएका थिए। पक्राउ परेका सबै सवारी चालकलाई छाडिएको महाशाखाका डिआइजी उपेन्द्रकान्त अर्यालले जनाए। 'कानुनअनुसार कारबाहीका लागि ट्राफिक कार्यालयमा ब्लुबुक र लाइसेन्सजफत गरिएको छ,' उनले भने, 'यस्तो जाँचलाई निरन्तरता दिनेछौं।' ट्राफिक प्रहरीले सादा पोसाकमा कारबाही गरेको पहिलोपटक भएको पनि उनले बताए।
ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्न कोटेश्वर, बानेश्वर, गौशाला, चाबहिल, नयाँ बसपार्क, नयाँबजार, सिंहदरबार, पद्मोदय मार्ग, केशरमहल, लाजिम्पाट, सातदोबाटो, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, महाराजगंज, सुकेधारा, न्युरोड, जमल, कालिमाटी, टेकु, बौद्ध, चुच्चेपाटी, सोह्रखुट्टे,गल्कोपाखालगायत क्षेत्रमा सादापोसाकका प्रहरी खटिने महाशाखाले जनाएको छ।
'ट्राफिक प्रहरीको उपस्थिति नभएको स्थानमा सडक नियम उल्लंघन गर्नेको संख्या बढ्दै गएको छ,' प्रभाग प्रवक्ता पवनकुमार गिरीले भने। ट्राफिक प्रहरीको उपस्थितिमा मात्र नियम पालना गर्ने, ट्राफिक प्रहरी नभएको स्थानमा जथाभावी सवारी चलाउने, गलत दिशाबाट ओभरटेक गर्ने, लेन अनुशासनको पालना नगर्ने, मोबाइल फोनको प्रयोग गरी सवारी चलाउने, रातो बत्तीमा नरोक्ने, जथाभावी यात्रु चढाउने र ओराल्ने, जताततैबाट सवारी मोड्नेजस्ता कारणबाट सवारी दुर्घटना र जाम बढेकाले यो कारबाही थालेको उनले बताए।
ट्राफिक प्रहरीले सवारी ऐन , नियम अनुसार सवारी नियम उलंघन गर्नेहरुलाई कार्वाही गर्दै आएता पनि सडक अनुसासन पालना गर्नुपर्ने चेतनामा खासै परिवर्तन आउन नसक्नु र कार्वाहीको प्रकृयालाई नियम उलंघन गर्नेहरुले सहज रुपमा लिने गरेको पाईएको हुँदा ट्राफिक प्रहरी महाशाखाबाट विशेष अभियान अन्तरगत सादा पोशाकमा ट्राफिक प्रहरी खटाईएको प्रवक्ता गिरीले बताए।
सवारी दुर्घटना गरी भागेका सवारी साधन पक्राउ गर्ने, बस बिसौनी तोक्ने, बोर्ड, ब्यानर राख्ने, बसपार्कमा बस स्ट्यान्डहरूको विवरण राख्ने उद्देश्यले यस्तो अभियान चलाइएको महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरी परिचय पत्रसहित सादा पोसाकमा खटिएका छन्। उनीहरूको सहायताका लागि नजिकै 'युनिफर्म'मा जनपद प्रहरी र ट्राफिक प्रहरी रहने गरेका छन्। उनीहरूले नियन्त्रणमा लिएका चालक र सवारी साधन कारबाहीका लागि महाशाखामा पठाउने गरेका छन्। सवारी नियम उल्लंघन गर्नेलाई २४ घन्टा नियन्त्रणमा राखी कानुनबमोजिम कारबाही गर्ने तथा चालक, परिचालकलाई जनचेतना कक्षामा सहभागी गराइने महाशाखाले जनाएको छ।












0 comments