Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

सरुवा भएपिच्छे श्रीमती फेर्ने प्रहरीमाथि चौथो बिहेपछि कारवाही प्रक्रिया सुरु

Published on Saturday, December 15, 2012 4:53 PM //

रुकुम, मंसिर ३०-रक्षक नै भक्षक भएपछि कसको के लाग्नु र? स्थानैपिच्छे श्रीमती फेर्दै हिँड्ने एक प्रहरीमाथि यहाँका महिलाले अविलम्ब कारबाही गर्न माग गरेका छन्। बर्दिया स्थायी घर भई हाल इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा कार्यरत प्रहरी जवान सचेतन लामिछानेलाई अन्तरपार्टी महिला सञ्जाल रुकुमले कारबाहीको माग गरेको हो।

रुकुम बस्दा रुकुमकोटकी सुनिता सुनारसँग बिहे गरी अलपत्र पारेको आरोप सञ्जालले लगाएको छ। दुई वर्षअघि सुनितासँग बिहे गरेका लामिछानेले छोरी जन्मेसँगै सुनितालाई बेवास्ता गर्दै आएका छन्। मेरो सम्पत्ति देखेर पछि लागेकी चरित्रहीन आइमाई भन्दै लामिछानेले सुनितालाई धम्क्याउने गरेको सञ्जालकी सल्लाहकार तथा नेपाल महिला सङ्घ रुकुमकी सचिव मनिषा भण्डारीले बताए।

सञ्जालका अनुसार प्रहरी लामिछानेले सुनितासँगै अन्य चार महिलासँग पनि बिहे गरेका छन्। रुकुमकै कोल गाविसकी एक किशोरीबाट छोरी जन्माएका उनले सुरुमा रुकुम सरुवा भएर आउँदा अर्की श्रीमती ल्याएका थिए भने हाल दाङ भैसी नाकाकी एक महिलासँग बिहे गरेका छन्।
उनीबाट पनि एक छोरी रहेको पाइएको छ। एक/एक छोरीसहितकी यसअघिकी दुईवटी श्रीमती हाल कहाँ छन् भन्ने पनि केही नखुलेको सञ्जालले बताएको छ।
न्याय र उचित क्षतिपूर्तिको निम्ति सुनिताले सञ्जाललाई गुहारेपछि उनलाई न्याय दिलाउन सञ्जाल लागि परेको हो। क्षतिपूर्ति दिनुपर्ने, बिहे दर्ता र छोरीको जन्मदर्ता गराउनुपर्ने माग राखेर सञ्जालसहित जिल्लास्थित अन्य सरोकारवाला निकाय अहिले आन्दोलनमा छन्। पीडित सुनितालाई न्याय दिलाउन उनीहरु दिनहुँ जिल्ला प्रशासन र जिल्ला प्रहरीमा धाइरहेका छन्।
आरोपित लामिछानेलाई रुकुम झिकाएर दुवैपक्षबीच सल्यानमा गएर बिहे दर्ता र छोरीको जन्मदर्ता गराउने समझदारी भएको भएपनि समझदारी नमानेर ऊ भागेर गएपछि समस्या जटिल बनेको सञ्जालकी सल्लाहकार भण्डारीले बताए
"ऊ कार्यरत जिल्ला सल्यान गएर व्यक्तिगत घटना दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा बिहे र छोरीको जन्मदर्ता गर्ने समझदारी भएको थियो", भण्डारीले भने -"तर ऊ सुनितालाई नलिएरै यहाँबाट भागेछ।"
अर्की श्रीमतीका साथ रुकुम आएका लामिछाने यहाँबाट भागेपछि महिलाले पुनः जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टसँग छलफल गरेका छन्। आफूहरुसँगको छलफलका क्रममा डिएसपी भट्टले जिम्मेवार मान्छेसँग सुनितालाई सल्यान पठाई त्यतैको प्रहरीको सहयोगमा पीडितलाई न्याय दिलाउन प्रयास गर्ने बताएको अन्तर पार्टी सञ्जालकी सदस्य निर्मला गिरीले बताए।
यदि त्यसो गर्दा पनि सुनिताले न्याय नपाए प्रहरी जवान लामिछानेलाई पुनः जिल्लामा झिकाउने समझदारी रुकुम प्रहरी र महिला सञ्जालबीच भएको बताइएको छ। रासस

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!