Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

बुधवारदेखि ‘सिद्धार्थ लगानी वृद्धि योजना–१’

Published on Tuesday, November 27, 2012 4:25 PM //

मङ्सिर ११, काठमाडौं । बुधवारदेखि ‘सिद्धार्थ लगानी वृद्धि योजना–१’को विक्री शुरू हुने भएको छ । ‘हामीलाई विश्वास छ, यो योजनाका सबै एकाइ विक्री हुनेछ,’ सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए । सिद्धार्थ बैङ्कको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले ल्याएको यो योजनाको अधिकतम आकार रू. ५० करोडसम्म हुनेछ ।

सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले भने, ‘यो योजनाको आकार रू. ४० करोड भए पनि अधिक माग भएमा आकार बढाएर रू. ५० करोडसम्म पुर्‍याउन सकिन्छ ।’ प्रवद्र्धक बैङ्क र सहायक कम्पनी मिलेर बीउ पूँजीका रूपमा रू. ७ करोडसम्म राख्न सक्ने भएकाले यसलाई अधिकतम आकार दिन सकिने तिमिल्सिनाले स्पष्ट पारे । योजना देशका १ सय स्थानबाट विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

बैङ्कहरूले निक्षेपमा दिने ब्याजदर घटिरहेकाले यसमा लगानीकर्ताहरूको पनि आकर्षण बढेको उनीहरूको भनाइ छ । रू. १० प्रतिएकाइ मूल्य रहेको योजनामा न्यूनतम १ सय कित्तासम्म खरीद गर्न सकिन्छ । धितोपत्र जसरी नै आवेदकहरूमा एकाइ बाँडफाँट हुने र शेयरबजारमा सूचीकृत हुने व्यवस्था छ । ५ वर्षे अवधिको यो बन्दमुखी योजनाले सो अवधिमा प्रतिएकाइ खुद सम्पत्ति मूल्य रू. १३ दशमलव ७३ हुने पनि प्रक्षेपण गरेको छ ।

सिद्धार्थ क्यापिटलले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र त्यसपछिका प्रत्येक वर्षहरूमा १ प्रतिशत थप गर्दै लाभांश दिन सक्ने प्रक्षेपण गरेको छ । ‘लाभांश वितरणपछि हुने सञ्चित मुनाफालाई हामी पुनः लगानी गर्नेछौं र थप मुनाफा आर्जनमा जोड दिनेछौं,’ सिद्धार्थ बैङ्कका भण्डारी भने ।

योजनाको रकममध्ये करीब ९५ प्रतिशत प्राथमिक तथा सूचीकृत शेयरमा लगानी हुने भए पनि कम्पनीले अल्पकालका लागि मात्र नभएर दीर्घकालीन रूपमा प्रतिफल प्राप्त गर्ने धितोपत्रमा लगानी गर्ने लक्ष्य राखेको छ । लगानीका हिसाबले अयोग्य तथा प्रतिफल नदिने धितोपत्रहरूमा कुनै पनि अवस्थामा लगानी नगरिने कम्पनीले स्पष्ट पारेको छ । भविष्यमा सामूहिक लगानी कोषहरूले समय–समयमा बैङ्किङ क्षेत्रमा देखिने तरलता अभावलाई परिपूर्ति गर्ने खालका योजनाहरू पनि ल्याउन सक्ने सिद्धार्थ बैङ्कका भण्डारीले उल्लेख गरे ।

सामूहिक लगानी कोषहरूले सर्वसाधारण तथा संस्थाहरूबाट एकाइ विक्रीबापत प्राप्त हुने रकम धितोपत्रलगायतका क्षेत्रमा लगानी गरी बढीभन्दा बढी प्रतिफल दिने प्रयास गर्छ ।

शेयरबजारबारे खासै ज्ञान नभएका लगानीकर्ताहरूले यस्ता इकाईहरूमा लगानी गर्नु सही हुन्छ । यी कोषका व्यवस्थापकहरूले गहन अनुसन्धान तथा अध्ययन गरेर लगानी गर्ने भएकोले शेयरबजारबारे अनभिज्ञ हुने लगानीकर्ताले बजारको उतारचढावलाई लिएर चिन्तित हुनुपर्दैन ।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!