बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा कमी
Published on Friday, November 30, 2012
7:35 AM //
news
१४ मंसिर, काठमाण्डौ । पेट्रोलियम पदार्थको माग अनुसार आपूर्ति हुन नसकेकाले त्यसको केही असर बजारमा देखिन थालेको छ । केही सातादेखि रक्सौल डिपोको मर्मत सम्भारको कार्य भइरहेकाले नेपाल आयल निगमले सो डिपोबाट आयात गर्ने पेट्रोलियम पदार्थको कटौती हुन गएपछि अहिले बजारमा पेट्रोलियम पदार्थको प्रभाव देखिन थालेको हो ।
निगमका प्रवन्ध निर्देशक सुरेशकुमार अग्रवालले रक्सौल डिपोको मर्मत कार्य सम्पन्न हुन अझै करिव पाँच महिना लाग्ने भएकाले त्यहाँबाट आयात हुने पेट्रोलियम पदार्थ बरौनी डिपोबाट थप गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘बजेट सार्वजनिक भएपछि विकास निर्माणका आयोजनामा बृद्धि भएको, विद्युत भार कटौती लगायतले अहिले डिजेलको मागमा पनि बृद्धि भएको र सो अनुसार आपूर्ति हुन नसकेकाले डिजेलको अभाव दिन प्रतिदिन बढदै गएको भए पनि पेट्रोलको समस्या भने केही दिनमा समाधान हुन्छ’ ।
निगमले अहिले देशभर करिव १८ लाख लिटर डिजेल र छलाख लिटर पेट्रोलको माग रहेको र आपूर्ति भने क्रमशः १० र पाँच लाख लिटरको अनुपातमा रहेको जनाएको छ ।निगमलाई अहिले मासिक रु २० करोड ५० लाख घाटा रहेको बताइन्छ । हवाई ईन्धन र पेट्रोलमा नाफा रहेको छ भने डिजेल र एलपी ग्यासमा घाटा रहेको छ । रासस












0 comments