Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

प्रहरी बनाइदिन्छु भन्दै डेढ लाख ठगी

Published on Sunday, December 16, 2012 8:15 AM //

चाँदनी हमाल, चितवन, पुस १ - भरतपुरको मध्यक्षेत्र प्रहरी तालिम केन्द्रमा प्रहरीमा भर्ती हुन आउनेको लाम अहिले पनि छ। बाराका सञ्जय पनुहर पहिलो छनोटका लागि शुक्रबार दौडने तयारी गर्दै थिए। प्रहरी निरीक्षक वीरेन्द्र गोदार भर्ती हुन आउनेसँग सामान्य सोधपुछ गर्दै थिए।
दौडअघि नापजाँचपछि उनले सञ्जयसँग भने, 'दौडन सकिन्छ?' 
'सक्छु होला, भर्ना त जसरी पनि हुनैपर्योन नि।' 
'किन र कसैलाई पैसा दिएर आयौ कि क्या हो?'
शंका लागे पनि उनले पनुहरलाई दौडन दिए। तर भर्तीका लागि १३०२ नम्बरमा दर्ता भएका पनुहर दौडमा फेल भए। पाँच किलोमिटर दौड २४ मिनेटमा सक्नुपर्नेमा उनले २७ मिनेट लगाएका थिए।
फेल भएर पनि फर्कन आनाकानी गरेपछि उनीसँग कडाइसाथ सोधपुछ गर्दा भर्ना हुन पैसा दिएको खुल्यो।
घर बाराबाट सञ्जय पनुहर भर्ती हुन चितवन आउने क्रममा उनकै गाउँका बद्री भट्टराईले उनीसँग डेढ लाख असुलेका हुन्। सामान्य चिनजानका भट्टराईका भतिज केशव भट्टराईसँग प्रहरीमा भर्ती हुन रहर लागेको बताएपछि उनले डेढ लाखमा सिधै भर्ती गराइदिने बताएका थिए।
'बरु रकम अहिले नै दिइराख, भर्ना खुलेपछि मलाई दर्ता नम्बर टिपाउनू भने,' पनुहरले बयानमा भनेका छन्, 'त्यसपछि पिताको नामको १८ कट्ठा जग्गा गाउँकै सुरेन्द्र मिस्त्रीलाई डेढ लाखमा बन्धकी राखी पैसा दिएँ।'
आफूले भट्टराईको काठमाडौंस्थित घरमै गएर पैसा दिएको उनले बताए। भर्ना खुलेपछि आफ्नो दर्ता नम्बरसमेत भट्टराईलाई टिपाएका उनी छनोट हुनेमा विश्वस्त थिए। तर छनोट नभएपछि आफ्नो पैसा डुबेको उनले चाल पाए। उनले आफ्नो रकम असुलउपर गरिदिन भन्दै केन्द्रमा उजुरी दिएका छन्। 
उनकै उजुरीका आधारमा काठमाडौं अपराध अनुसन्धान महाशाखाले भट्टराईलाई शनिबार उनकै घर काठमाडौं मित्रपार्कबाट पक्रेको छ।
भर्ती गराइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ परेका र आरोप लगाउने दुवैलाई अनुसन्धानका लागि महाशाखामा राखिएको तालिम केन्द्रका समादेशक तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए।

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!