Mix Sansar

Find everything here

Basnetg.com - Premium Blogger Templates

स्पिडमा गाडी चलाउनुहुन्छ ? राडार गनको फन्दामा परिएला

Published on Friday, November 23, 2012 8:13 AM //

भक्तपुर, मंसिर ७ - महानगरीय ट्राफिक प्रहरी परिषद् भक्तपुरले भक्तपुरमा आजदेखि सवारी साधनको गति नाप्ने यन्त्र अर्थात राडार गन सञ्चालनमा ल्याएको छ। 
सडकमा तीव्र गतिमा सवारी चलाउनाले दुर्घटनामा वृद्धि भएपछि सवारी साधनको तीव्रगति नियन्त्रण गर्न ट्राफिक प्रहरीले उपत्यका मै पहिलो पटक आजदेखि भक्तपुरमा राडार गन सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी परिषद् भक्तपुरका प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक मुरारी मिश्रले बताए।
गन सञ्चालनमा ल्याएको पहिलो दिन नै आज तीव्र गतिमा सवारी चलाउने १६० वटा सवारी साधनलाई कारबाही गरी सय रुपियाँका दरले जरिवाना गरेको उनले बताए। सबैभन्दा बढी तीव्र गतिमा सवारी साधन चलाएर कारबाहीमा पर्नेमा मोटरसाइकल र मिनिट्रक रहेको र त्यसपछि स्कुल बसदेखि सरकारी गाडीसमेत कारबाहीमा परेका छन्।
राडार गनले दुई सय मिटर परबाट आएको सवारी साधनतर्फ राडार गन देखाउने बित्तिकै सवारी साधनको गति देखाउने गर्दछ। डिजिटल प्रविधिको सो गनले तीव्रगतिमा आएको सवारी साधनको गति अङ्कमा देखाउने गर्दछ।
अरनिको राजमार्गखण्ड अन्तर्गत छ लेन सडकमा तीव्र गतिमा सवारी चलाएर दुर्घटनामा वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले राडार गन सञ्चालनमा ल्याएको हो।
सडकमा प्रतिघण्टा ६० किलोमिटरभन्दा बढीको गतिमा गुडेका सवारीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही स्वरुप एक सय रुपियाँ जरिवाना गरिने मिश्रले बताए।
ट्राफिक प्रहरीले भक्तपुरमा चारवटा राडार गन ल्याएको छ। यसलाई जडिबुटीदेखि सूर्यविनायकसम्म गुड्ने सवारी साधनको गति नाप्न प्रयोग गरिने छ। ब्याट्रीबाट सञ्चालन गरिने राडार गन तत्कालका लागि प्रहरीको चारवटा सिभिआर भ्यानको व्याट्रीबाट सञ्चालन गरिने छ।
ट्राफिक प्रहरीले आवश्यकताअनुसार सो सडकको दैनिक फरक/फरक स्थानमा राखेर गति नाप्न राडार गनको प्रयोग गर्ने भएको छ।
राडार गनको आज महानगरीय प्रहरी परिषद् भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक दीलिपकुमार चौधरीले उदघाटन गरेका थिए। यसअघि राडार गन पोखरामा सञ्चालन गरिएको थियो। रासस

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!